पछिल्लो समय चलचित्र मेकरहरु आफ्नो गीतसङ्गीतको विषयमा निकै चनाखो हुने गरेको पाइन्छ । गीतसङ्गीतकै कारण कतिपय चलचित्रहरू चलेको र हल सम्म दर्शक पुगेको उदाहरण पनि छ । चलचित्रको गीतलाई पछिल्लो समय प्रमोसनको बलियो माध्यम बनाउने गरिन्छ । यसै आइरहेको गीतहरू भन्दा केही केही पृथक् देखाउने कोसिस सहित भाद्र २२ मा प्रदर्शन हुने फिल्म ’सुश्री सम्पत्ति’ युनिटले छायाङ्कन गरिरहेको छ । चलचित्रमा समावेश ’हुकुम’ बोलको गीतमा दरबारमा भारदारहरूसँगको नाच र रमाइलो प्रस्तुत गरिएको छ भने पोसाक पनि त्यही अनुरूप तयार गरिएको छ ।
झन्डै ८० भन्दा बढी कोरस सहित यसगीतमा सलोन बस्नेत , सारा सिर्पाली र विनोद न्यौपाने फिचर्ड छन् । गीतलाई गम्भीर बिस्टले निर्देशन गरिरहेका छन् । सुरेश अधिकारीको शब्द र सङ्गीत रहेको गीतमा विशाल राई र मेलिना राईको स्वर रहेको छ । गीतलाई शिवराम श्रेष्ठले छायाङ्कन गरिरहेका छन् । गीतको छायाङ्कन हाल पाटन दरबार लगायतका केही स्थानमा भइरहेको छ ।
चलचित्र सुश्री सम्पत्तिलाई रंगपत्रकार सुव्रत आचार्यले निर्देशन गरेका हुन् । यस चलचित्रमा सलोन, विनोद र साराको अलावा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुकोअभिनय रहेको छ भने यसमा प्रियंका कार्की पनि अतिथि भूमिकामा देखिनेछिन् । रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् । चलचित्रको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । अभिमन्यु निरवी र निर्देशक आचार्यको डाइलग रहने चलचित्रको स्क्रिनप्ले अभिमन्युकै रहेको छ ।