चलचित्र ‘नाई न भन्नु ल ५’ को पहिलो गीत सार्वजनिक भएको छ । केही समय अघि ट्रेलर सार्वजनिक गरिएको चलचित्रको शीर्ष गीत सार्वजनिक गरिएको हो । मङ्गलवार राजधानीमा आयोजित एक कार्यक्रमबिच चलचित्रको गीत सार्वजनिक गरिएको थियो । गीतमा वसन्त सापकोटाको सङ्गीत रहेको छ भने शब्द दिनेश थपलियाको रहेको छ । ‘तिम्रो आँखामा आँखा जुधाई’ बोलको सार्वजनिक गीतमा मेलिना राईको स्वर रहेको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा चलचित्रका मुख्य कलाकारद्धय स्वस्तिमा खड्का र अभिषेक नेपाल फिचर छन् । 

भदौ ८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रलाई विकास राज आचार्यले निर्देशन गरेका हुन् ।चलचित्रमा स्वस्तिमा र अभिषेकको साथमा अनुभव रेग्मी, सेड्रीना शर्मा, प्रियंका कार्की, केकी अधिकारी, निरुता सिंह, दिलीप रायमाझी लगायतका कलाकारको अभिनय रहेको छ।