यही साउन १८ गतेबाट अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह अभिनीत ‘कायरा’ प्रदर्शन हुदैँछ । आर्यनको होम प्रोडक्सनबाट निर्माण भएको चलचित्र कायराको कथा आर्यन स्वयंमले लेखेका हुन् । पछिल्लो केही समय यता आर्यन अभिनीत चलचित्रहरू खासै सफल भएका छैनन् । गत वर्ष उनी अभिनेत्री रेखा थापासँग ‘रुद्र प्रिया’मा देखिएका थिए । तर चलचित्रले सोचेको जस्तो सफलता हासिल गर्न सकेन । त्यस लगतै आर्यनले साम्राज्ञीलाई लिएर कायरा बनाउने घोषणा गरे । उक्त समय धेरैले चलचित्रमा साम्राज्ञी राखेर आर्यनले सेफ ल्याण्डिङ गर्न खोजिएको आरोप लगाएका थिए । तर आर्यन आफूलाई लागेको आरोप माथि खण्डन गर्दै भन्छन् ‘मैले स्किृष्ट लेख्न सुरु गरेसँगै चलचित्रको पात्रमा साम्राज्ञीलाई देखेको थिए । सोही कारण साम्राज्ञीलाई हामीले चलचित्रको लागी प्रपोज राखौँ । यदि साम्राज्ञीले नमानेको भए हामीले नितान्त फ्रेस अनुहार राख्ने थियौँ । मैले साम्राज्ञीको स्टारडम भन्दा पनि कथाले साम्राज्ञीनै माग गरेको कारण राखेको हो ।’ बोल्दै गर्दा आर्यन थप्छन् ‘कस्ता कस्ता स्टारहरूको चलचित्र फ्लप भएको हामीले देखेका छौ । चलचित्रको कन्टेन्ट राम्रो हुनु पर्छ । सेफ ल्याण्डिङ होइन..हाई ल्याण्डिङ हुन्छ ।’
 

लक्ष्मण रिजालको निर्देशन रहेको चलचित्र ‘कायरा’को ट्रेलर र गीत सार्वजनिक भइसकेको छ । पहिलो पटक एकसाथ देखिएका आर्यन र साम्राज्ञीको जोडीले दर्शकमा चलचित्र प्रतिको कौहतुहता बढाएको छ ।