आज शुक्रवार नेपाली सिनेमा घरमा तीन नेपाली चलचित्र एकसाथ रिलिज भएका छन् । जसमा ‘रोमियो एण्ड मुना, चि मुसी चि र सुकुलगुण्डा’ रहेको छ । 
चलचित्र रोमियो एण्ड मुनालाई नरेश कुमार केसीले निर्देशन गरेका हुन् । चलचित्रमा विनय श्रेष्ठ र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको छ । चलचित्रमा सृष्टि गाउँले भूमिकामा देखिएकी छिन् भने विनय सहरका युवाको भूमिकामा प्रस्तुत भएका छन् । चलचित्रमा उनीहरू बिचको प्रेम, बिछोडको द्धन्द्धलाई देखाइएको छ । भी मोसन पिक्चर्स, पिएमजी पिक्चर्स र केएस प्रोडक्सनको प्रस्तुति रहेको रोमियो एण्ड मुनालाई अभिनेता विनय श्रेष्ठको साथमा , प्रसन्न गोपाली, राम शर्मा र कविन शाक्यले मिलेर निर्माण गरेका हुन् । चलचित्रमा विनय र सृष्टिको अलावा सुरक्षा भट्टराई, सुष्मा कार्की, प्रज्जवल सुजल गिरी लगायतका कलाकारको अभिनय रहेको छ । 

 

त्यस्तै आजबाट अर्को नेपाली चलचित्र ‘चि मुसी चि’ प्रदर्शनमा आएको छ । चलचित्रबाट भारतको चर्चित रियालिटी सो ‘डी आई डी’मा चर्चित रहेका सुनिल क्षेत्री र नायिका अलिशा शर्माले डेव्यु गर्दै छन् । यो चलचित्रलाई दिनेश श्रेष्ठले निर्देशन गरेका हुन् भने लेखन पनि उनकै रहेको छ  । चलचित्रमा सुनिल र अलिशाको साथमा सुशान्त कार्की, शिव राज कार्की, शेखर अधिकारी, कमली वाइवा लगायतका कलाकारको अभिनय रहेको छ । 

यता बिना कुनै प्रमोसन चलचित्र ‘सुकुलगुण्डा’ प्रदर्शनमा आएको छ । मधुसुदन भट्टराईको निर्देशन रहेको यो चलचित्रले मल्टिप्लेक्समा कुनै सो पाएको छैन भने केही सिंगल थिएटरमा रिलिज भएका छन् । चलचित्रमा अभिनेता जीवन लुइँटेल, खुश्बु खड्का लगायतका कलाकारको अभिनय रहेको छ । 
आज बलिउडतर्फबाट कुनै पनि चलचित्र प्रदर्शनमा आएका छैनन् ।