प्रेमगीत र प्रेमगीत २ निर्माण गरेको कम्पनी आसुसेन फिल्मस्को चौथो चलचित्र ‘मेरी मामु’को पहिलो गीत केही समय अघि सार्वजनिक गरेको थियो। पहिलो गीत रिलिज सँगै चलचित्रको प्रमोसनलाई आक्रमक बनाउने हेतुले मेरी मामु निर्माण टिमले नयाँ प्रतियोगिताको अगाडी सारेको छ । निर्माण युनिटले ’आफ्नो मामुसँग थाइल्याण्ड टुर जाऔँ’  शीर्षकमा नयाँ प्रतियोगिता सारेको हो । मेरी मामु टिमको अनुसार यो प्रतियोगितामा सहभागी हुन आफ्नो आमाको बारेमा तोकिएको फर्म्याट अनुसार लेख्नु पर्नेछ । प्रतियोगीले आमाको बारेमा कम्तीमा २५० शब्द नबढाई वाक्यांश लेखेर स्कुलमा राखिएको सङ्कलन बक्स अथवा आसुसेन फिल्मस्लाई पठाउन सक्नेछन् । प्रतियोगीतमा स्कुल अध्ययनरत कक्षा १ देखि १० सम्मका विधार्थीहरुले मात्र सहभागी हुन पाउनेछन् । यो प्रतियोगितामा सहभागी मध्येबाट उत्कृष्ट ५ जनाको नाम चलचित्र मेरी मामुका मुख्य कलाकार आयुब सेनले भिडियोबाट घोषणा गर्नेछन् भने ’मेरी मामु’ र आशुसेन फिल्मसको फेसबुक पेजमा लेखिने छ । 
चलचित्र ‘मेरी मामु’मा आमा र छोराबिचको दुरी र सामिप्यता बोल्छ । चलचित्रलाई यम थापाले निर्देशन गरेका हुन्  । चलचित्रमा आयुब सेनको अलावा कुसुम गुरुङ, प्रेमगीत २ नायिका अश्लेशा ठकुरी, शारुक ताम्राकार लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र यही आउँदो भदौ १५ गते प्रदर्शनको तयारीमा रहेको छ ।