अभिनेता आर्यन सिग्देल अभिनित चलचित्र ‘कायरा’ यतिबेला नेपालभरका हलहरुमा प्रदर्शन भइरहेको छ ।पहिलो दिन शुक्रबार ६० प्रतिशत अकुपेन्सी कायम गर्न सफल भएको चलचित्रले सनिबार बर्षाको बावजुद पनि बिहानी शोमा ९० प्रतिशत र दिवा शोमा शतप्रतिशत अकुपेन्सी कायम गरेको निर्माण पक्षले जानकारी दिएको छ । सनिबार चलचित्रका अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह दर्शकहरुसँग साक्षत्कार गर्नको लागी हल–हल पुगेका थिए । हल पुगेको यो जोडीसँग सेल्फी खिच्ने दर्शकको भिड लामै थियो ।
मध्यान्तरपछि अष्टनारायण छिरेका आर्यन र साम्राज्ञीले सिनेमा नै रोकेर दर्शकलाई अभिवादन गरे भने चलचित्र रुचाइदिएकोमा धन्यवाद दिएका थिए । शनिवार दिउँसोदेखि साँझसम्म काठमाण्डौका जय नेपाल, कुमारी, सिभिल मल, लबिम मल, बीग मुभिजमा चलचित्रले पाएको सबै शोमा हाउसफुलका साथ दर्शकले चलचित्र हेरे । त्यस्तै राजधानीका गोपीकृष्ण, गुण, गंगा जस्ता मध्यम वर्गीय दर्शकको चाप रहने हल पनि हाउसफुल रह्यो ।
यस्तै, काठमाण्डौ बाहिरका चितवन, पोखरा, वुटवल, दमक, विर्तामोड, धरान, इटहरीमा पनि दर्शकको उपस्थिति आक्रामक देखिएको वितरक सुनील मानन्धरले जानकारी दिए । उनले ‘कायरा’ को कलेक्सन यस वर्ष प्रदर्शनमा आएका सिनेमाहरु भन्दा उच्च रहेको दाबी गरेका छन् । दिउँसो दर्शक प्रतिक्रिया बुझ्न अष्टनारायण पुगेका उनले भने, ‘राजधानी भित्र र बाहिरका हलमा दर्शक अभाव छैन । कति त टिकट नपाएर घर समेत फर्किए । नेपाली सिनेमाप्रति दर्शकको यस्तो क्रेज निकै कम देख्न पाइन्छ । मुसालधारे पानीका बाबजुद् पनि दर्शकहरु सिनेमा हेर्न हल पुगिरहेका छन् ।’ उनले सिनेमाको दुई दिने कलेक्सन करोड माथि हुने बताए ।