गत शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘कायरा’ले मङ्गलवार विशेष सो आयोजना गरेको थियो । नक्साल स्थित जय नेपाल हलमा आयोजना गरिएको विशेष सोमा चलचित्रकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो । अभिनेता आर्यन सिग्देलको होम प्रोडक्सनबाट निर्माण भएको चलचित्र कायरा हेर्न पुगेकी निर्देशक तथा कलाकार दिपाश्री निरौलाले चलचित्रको तारिफ गर्दै बधाई दिएकी थिइन् । ‘चलचित्रको केही सिनहरू धेरै लम्बिएका छन् । त्यसलाई काटेको भए अझ राम्रो हुन्थ्यो । तर पनि चलचित्रको कथा, प्रस्तुति र कलाकारहरूको अभिनय उत्कृष्ट छ । ’ दिपाश्री भन्छिन् ।
त्यस्तै अर्की निर्देशक तथा कोरियोग्राफर रेनशा वान्तवा राईलाई पनि कायरा केही लामो लागेको बताइन् । ‘केही सिन लामा छन् तर पनि प्रेमकथालाई मन छोयो ’ उनी बताउँछिन् । यता अभिनेत्री झरना थापा, अभिनेता रमेश उप्रेती, अभिनेत्री करिष्मा मानन्धर लगायतका उपस्थित कलाकारहरूले चलचित्रको प्रशंसा गरेका थिए । कायरालाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । चलचित्रमा आर्यनको साथमा साम्राज्ञी शाहको मुख्य भूमिका रहेको छ ।