गत शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘कायरा’ दुबईमा प्रदर्शन हुने भएको छ । नेपालमा मिश्रित प्रतिक्रियाको साथ औसत कमाई गरेको चलचित्रलाई दुबईमा प्रदर्शन गराउन बुधवार चलचित्रमा निर्माता तथा अभिनेता आर्यन सिग्देल र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह यूएई उडेका छन् । यूएईको विभिन्न सहरमा आयोजना हुन लागेको विशेष सोमा सहभागी हुन आर्यन र साम्राज्ञी बुधवार बेलुकी यूएई उडेका हुन् । यसपटक दुबईमा प्रदर्शन हुने कायराको लम्बाई भने छोट्टिएको अभिनेता आर्यन सिग्देलले जानकारी दिए ।
चलचित्र लामो भएको धेरैले सुझाव दिएपछि आर्यनले २ घण्टा २१ मिनेटको चलचित्रलाई २ घण्टा मात्र बनाएर दुबईमा प्रदर्शन गरिने जानकारी दिए । बुधवार त्रिभुवन विमानस्थलमा मिडिया सामु बोल्दै आर्यन भन्छन् ‘दर्शकहरूले दिनु भएको प्रतिक्रियालाई मध्यनजर गर्दै हामीले चलचित्र केही छोट्ट्याउन लागेका हौ । नेपालमा शुक्रवार या शनिवारबाट कायरा २ घण्टाको मात्र रिलिज हुने छ । ’ फिलिपिन्समा छायाङ्कन गरिएको चलचित्र कायरालाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् ।