छायाङ्कन अगावैबाट कलाकारको विषयलाई लिएर चलचित्र ‘गोपी’को निकै चर्चा निकै भइरहेको छ । केही समय अघि राजधानीमा एक कार्यक्रम आयोजना गर्दै चलचित्र गोपीको घोषणा गरिएको थियो । जसमा अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहने बताइएको थियो । त्यस्तै केही साता अघि मात्र अर्की अभिनेत्री वर्षा सिवाकोटी पनि गोपीमा रहने भन्ने समाचार प्रकाशित भयो । तर आइतबार वर्षालाई अर्की नायिका वर्षा राउतले रिप्लेस गरिन् । वर्षा सिवाकोटी बाहिरिएको दुई दिन पनि नबित्दै चलचित्रका मुख्य नायक खगेन्द्र लामिछाने पनि बाहिरिएका छन् । मङ्गलवार गोपी निर्माण युनिटले आयोजना गरेको पत्रकार सम्मेलनमा खगेन्द्रको स्थानमा अर्का अभिनेता विपिन कार्की अनुबन्धित भएको जानकारी दिए । खगेन्द्र चलचित्रबाट बाहिरिएसँगै विपिनले सोमबार राती गोपीको कथा सुनेर साइन गरेका जानकारी दिए । चलचित्रको कथा मन परेको कारण नै आफूले छोटो समयमा चलचित्र साइन गरेको विपिनले पत्रकार सम्मेलनमा जानकारी दिएका थिए । विपिन भन्छन् ‘निर्देशक दीपेन्द्र लामालाई पनि गाह्रो भइरहेको थियो । अन्तिम समयमा मलाई कथा सुनाउनु भयो । सुरुमा कथा मनपर्यो अनि नजिकको सम्बन्ध भएको कारण पनि मैले चलचित्र गर्न राजी भए । यो चलचित्रको पात्रको लागी मैले केही समय मागेको छु । सायद ६ दिनमा आफूलाई तयार बनाउन सक्छु जस्तो लाग्छ । ’ निर्माण पक्षको अनुसार अभिनेत्री वर्षा सिवाकोटीले चलचित्रमा आफ्नो भूमिका छोटो भएको कारण नगरेको बताएका थिए । तर भरखरै भित्रिएकी अभिनेत्री वर्षा राउतलाई चलचित्रको कथा मन परेको र वर्षा सिवाकोटीले छाडेको भूमिका राम्रो रहेको बताइन् ।
यो चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गर्दछन् । चलचित्रको छायाङ्कन भदौ १ बाट सुरु हुने भनिएता पनि अभिनेता विपिन कार्कीको कारण भदौ ५ गतेसम्मबाछ सुरु हुने निर्माण पक्षले जानकारी दिएका छन् । आरोही केसीको निर्माण रहेको चलचित्र गोपीमा निर्देशक लामाको कथा रहेको छ भने सामिप्य तिमल्सिनाको पटकथा, शैलेन्द्र डी कार्कीको छायाङ्कन रहेको छ । चलचित्रमा श्रीधर पौडेल कार्यकारी निर्माता हुन् । यो चलचित्र चैत्र १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको छ ।