आज शुक्रबार नेपाली सिनेमा हलमा चार नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएको छ । यो साता चलचित्र हेर्ने योजनामा हुनुुहुन्छ भने आजबाट जय शम्भु, मिस्टर भर्जिन, ब्ल्याक र बाह्रमासे एकसाथ प्रदर्शनमा आएका छन् । चलचित्र मिस्टर भर्जिनलाई बिसारत बस्नेतले निर्देशन गरेका हुन् । उनको यो डेव्यु चलचित्र हो । यो चलचित्रले यौन मनोबिज्ञानको कथा बोल्छ । चलचित्रमा तीन वयस्क युवा छन् जो आफ्नो यौन चाहना पुुरा गर्ने भौतारिरहेका हुन्छन् । सोही क्रममा उत्पन्न भएको बाधा अवरोधलाई चलचित्रमा प्रस्तुत गरिएको छ । चलचित्रको ट्रेलर र गीतहरु सार्वजनिक भइसकेका छन् । यो चलचित्रमा गौरव पहारी, मरिष्का पोखरेल, बिजय बराल, कमलमणि नेपाल, रविन्द्र झा, भोला राज सापकोटा लगायतका कलाकारको अभिनय रहेको छ ।
त्यस्तै आजबाट एक्सन चलचित्र जय शम्भुु प्रदर्शनमा आएको छ । चलचित्रमा प्रशान्त ताम्राकार, अनुप विक्रम शाही र वर्षा शिवाकोटीको मुख्य भूमिका रहेको छ । चलचित्रलाई रुपेश तामाङले निर्देशन गरेका हुन् । यो चलचित्रमा अनुप, प्रशान्त तथा वर्षाका अलावा रोशन महर्जन, करुणा पाण्डे, अनुपम श्रेष्ठ, बसन्त भट्ट, कालु राना लगायतका कलाकारहरुको अभिनय रहेको छ ।चलचित्रमा घले लामाको छायांकन, श्री श्रेष्ठको एक्सन, टंक बुढाथोकीको संगीत, वनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य रहेको छ । राजकुमार नगरकोटी र चक्र पाख्रिन कार्यकारी निर्माता रहेको ‘जय शम्भु’ का निर्मातामा अरविन्द्र शाक्य हुन् ।
आजबाट नै चलचित्र ’ब्ल्याक’ प्रदर्शनमा आएको छ । चलचित्रमा आकाश श्रेष्ठ र आँचल शर्माको मुख्य भूूमिका रहेको छ। कालभस्टोरी जनरामा बनेको चलचित्रलाई प्रदीप श्रेष्ठले निर्देशन गरेका हुन् ।चलचित्रलाई आश्मा पाण्डेले निर्माण गरेकी हुन् । मौनता श्रेष्ठको कथा रहेको चलचित्रमा आकाश र आँचलको साथमा आयुष रिजाल, सुशील क्षेत्री, धिरेन शाक्य र प्रिया रिजालको मुख्य भूमिका रहेको छ । रामशरण उप्रेतीको छायाङ्कन रहेको चलचित्रलाई सम्पादन अर्जुन जिसीले गरेका हुन् । चेतनकुमार पाण्डे चलचित्रका कार्यकारी निर्माता हुन् ।
यता अर्को चलचित्र ‘बाह्रमासे’ पनि आजबाट रिलिज भएको हो ।कमेडी जनरामा बनेको चलचित्रमा जय किसन बस्नेत, पूजना प्रधान, मरिचमान श्रेष्ठ, पुरन थापा, प्रदीप पाठक, सोनिका बाँस्तोला लगायतका कलाकारले अभिनय रहेको छ भने चलचित्रलाई नक्कली प्रचण्ड बनेका प्रदीप पाठकले लेखेका हुन् भने निर्माण पनि उनैले गरेका हुन् । चलचित्रलाई लय संग्रौलाले निर्देशन गरेका हुन् ।