यही भदौ २२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रामकहानी’ले चलचित्र प्रचारको लागी नयाँ प्रमोसन शैली अपनाएको छ । यसअघि राजधानीको विभिन्न रेस्टुरेन्टमा चलचित्रको नामको वाइफाई आइडी र पासवर्डको क्याम्पिएन चलाएपछि यति बेला निर्माण युनिटले सिग्नेचर क्याम्पिएन चलाएको हो ।
काठमाण्डौका विभिन्न स्थानमा पुगेर केही युवाहरूले यो क्याम्पिएन गरेका छन् । विशेषगरि, ‘रामकहानी’को टि सर्ट लगाएर वसन्तपुर क्षेत्रमा पुगेका युवाहरूले त्यहाँ“ घुम्न आउने मानिसहरूलाई ‘रामकहानी’ लेख्न लगाए । ४ जनाको टिसर्टमा मानिसहरूले आ–आफ्नो स्टाइलमा रामकहानी नामको हस्ताक्षर गरेका थिए । सो अवसरमा उनीहरूले हस्ताक्षर गर्नेहरूलाई चलचित्रको बारेमा जानकारी पनि दिएका थिए ।
४ जनामध्ये सर्वाधिक कसले धेरै चलचित्रको टिसर्टमा सिग्नेचर सङ्कलन गर्ने भन्ने प्रतिस्पर्धा चलेको थियो । यो आइडिया चलचित्रकै प्रचार संयोजक जितेन्द्र खतिवडाको हो ।
सुदर्शन थापाको निर्देशनमा तयार भएको यो चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका छ ।