चलचित्र ‘चङ्गा चेट’को पहिलो गीत सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक विशेष कार्यक्रम राख्दै चलचित्रको पहिलो गीत र चलचित्र प्रदर्शन मिति सार्वजनिक गरिएको थियो । यस अघि भदौ २२ गते प्रदर्शन हुने भएको चलचित्र अब कार्तिक १६ गतेबाट प्रदर्शनमा आउने भएको छ । त्यस्तै कार्यक्रममा चलचित्रको ‘गोजीमा दाम छैन’ बोलको गीत सार्वजनिक गरिएको थियो । उक्त गीतमा राजनराज सिवाकोटी, मेलिना राई र गृष्मा सिवाकोटीको स्वर रहेको छ भने गीतमा राजराज सिवाकोटीको सङ्गीत रहेको छ । गीतको शब्द हरिहर तिमल्सिना लेखेका हुन् भने भिडियोको कोरियोग्राफी प्रविन सिंहले गरेका हुन् । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकारहरू प्रियंका कार्की, आयुष्मान देशराज, सन्दीप श्रेत्री, सुरक्षा पन्त, रविन्द्र झा र परमिता राणाको नृत्य रहेको छ ।
माधव वाग्ले र शर्मिला पाण्डेको संयुक्त लगानी रहेको चलचित्र ‘चङ्गा चेट’लाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । निर्देशक खनालको अनुसार यो सिनेमा डार्क कमेडी चलचित्र हो । आफूले दर्शकको हँसाउनको लागी मात्र भएभरको कमेडीको प्रयोग नगरेको उनी दाबी गर्छन् । भन्छन् ‘यो चलचित्रले तीन युवकले भोगेको कथा बोल्छ । कमेडी भएता पनि यहाँ दर्शक हँसाउनको लागी कुनै पनि संवाद र त्यस्ता जबरजस्ती दृश्यहरू छैन । ’ यो चलचित्र प्रियंका, आयुष्मान, परमिता, रविन्द्र, सुरक्षाको साथमा अर्पण थापा, शिशिर बंगडेल, सरिता गिरी, पुष्कर गुरुङ, बेनिशा हमाल लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा कथा प्रदीप भारद्धाज रहेको छ ।