चलचित्र ‘जात्रा’बाट निकै रुचाइएको जोडी अभिनेता विपिन कार्की र अभिनेत्री वर्षा राउत पुनः एक पटक नयाँ चलचित्र ‘गोपी’मा एकसाथ देखिन्दैछन् । गोपीको केही दिन देखि काठमाडौँमा छायाङ्कन भइरहेको छ । अरू दिन भन्दा मङ्गलवार गोपी सेटमा केही रौनक छाएको थियो । जति बेला वर्षा हातमा केक बोकेर अभिनेता विपिन कार्कीलाई सप्राइज दिन पुगेकी थिइन् ।आफ्नो सुटिङ सेड्युल नभए पनि वर्षा सेटमा पुगेकी थिइन् ।
वर्षा पुगेपश्चात् मात्र धेरैले थाहा पाएका थिए विपिनको जन्मदिन भनेर । विपिन भन्छन् ‘अहिले सम्म कुनै पनि चलचित्र सेटमा केक काटेको थिइन् । यहाँ पनि मैले मेरो जन्मदिन हो भनेर भन्न मिलेन नि । ’ यता वर्षा भने फेसबुकले विपिनको जन्मदिन सम्झाइदिएकाे बताउछिन् । ‘२ बर्ष अघि विपिनको जन्मदिन मनाएको तस्बिर फेसबुकमा सम्झना स्वरुप आएपछि मात्र सम्झिए । अनि श्रीधर दाई (चलचित्रमा कार्यकारी निर्माता श्रीधर पौडेल)लाई भनेर सप्राइज केक काट्ने योजना बनाएको हो । ’ बर्षाले दिएको सप्राइज केकको कारण विपिन दंग थिए । उनले यो ३५ औँ जन्मदिन हो । रंगमञ्च हुदैँ चलचित्रमा व्यस्त बनिरहेका विपिन अब्बल अभिनयको कारण सबैमा प्रिय छन् ।