यही आउँदो भदौ २२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रोज’को सम्पूर्ण टिम यति बेला प्रमोसनको व्यस्त छन् । प्रमोसनको क्रममा देश दौडहामा रहेको रोज टिम बिहीबार पोखरा पुगेको थियो । चलचित्र टिमले पोखरामा पत्रकार सम्मेलन र कन्सर्ट गरेको थियो । 

प्रदीप खड्का, मिरुना मगर, परमिता राणा, प्रताप दास लगायत टुरमा सहभागी छन् । पोखरामा आयोजित पत्रकार सम्मेलनमा आफू आफू पहिलो पटक रोमान्टिक जनराबाट पर हटेर थ्रीलरमा काम गरेकाले दर्शकले भिन्न टेस्टमा प्राप्त गर्ने अभिनेता खड्काले बताए । 

अभिनेत्री परमिताले आफ्नो जीवनको नजिक पात्रको भूमिकामा आफूले अभिनय गरेको बताइन् । ‘कतै न कतै मेरो जीवनको नजिक मुख्य पात्र भएकाले मलाई काम गर्दा सजिलो र इन्टिमेट महसुस भयो’ राणाले सोधिएका प्रश्नको जवाफ दिइन् । 

अभिनेत्री मिरुना मगरले प्रदीपसँग काम गर्दा केमेस्ट्री निर्माण भएको बताउँदै आफूले उनलाई सरल र यथार्थवादी व्यक्तिको रूपमा लिएको बताइन् । गायक प्रताप दासले फिल्मको चर्चित गीत फुल हैन...गीत गाएर सुनाए । 

टुर पोखरा, बुटवल, नारायणगढ, धरान, इटहरीदेखि बिर्तामोड पुगेर टुंगिनेछ । नीरक पौडेल निर्देशित चलचित्रलाई गोपीकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टले निर्माण गरेका हुन् ।