अन्तर्राष्ट्रिय नेपाली गायन रियालिटी सो नेपाल आइडलको रिजन २ यतिखेर चलिरहेको छ । नेपालमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको गायन प्रतियोगिता आयोजना भएसँगै यसले खुबै चर्चा पायो । सामाजिक सञ्जाल, युट्युब तिर अहिले पनि युट्युबको शीर्षस्थानमा आइरहेको हुन्छ । यसैबिच नेपाल आइडल पहिलो सिजनका सेकेन्ड रनरअप प्रताप दास यतिखेर देशबिदेशका कार्यक्रमहरूमा निकै व्यस्त छन् । उनले थुप्रै गीतहरू गाई सकेका छन् । नेपाल आइडलका अन्य विजेता भन्दा उनले चलचित्रका गीतहरूमा बढी स्वर दिएका छन् । पछिल्लो समय चलचित्रका निर्माता तथा निर्देशकले उनलाई खोज्ने गरेका हुन्छन् ।
यसैबिच उनले स्वर भरेको ‘रोज’ चलचित्रमा समावेश ‘फुल हैन’बोलको गीत यतिखेर चर्चामा छ । यही भदौ २२ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रको टिम अहिले मोफसलको प्रमोशनल टुरमा छ । चलचित्रका नायक तथा नायिकाहरूसँगै गायक प्रताप दास पनि सँगै छन् । पोखराबाट सुरु भएको प्रमोशनल टुर, बुटवल, चितवन हुँदै आइतबार इटहरी र धरानमा सम्पन्न भयो । इटहरीमा कन्सर्ट सुरु हुनु अघि गरिएको पत्रकार भेटघाट कार्यक्रममा प्रतापले आफ्नो स्वरमा रहेको गीतको विषयमा जानकारी दिए । त्यसैबिच सञ्चारकर्मीहरूको ‘चलचित्रमा स्वर मात्र कि अभिनय पनि ?’ भन्ने प्रश्नमा प्रताप केहिबेर रोकिए । उत्तर दिनुपुर्व छेउमै रहेका नायक प्रदीप खड्का तर्फ हेर्दै ‘सुटिङ भएको थियो तर मेरो सिन मात्र काटियो’ भन्ने जवाफ दिए र मुसुक्क हाँसे । उनले दोस्रो हरफमा चलचित्रमा मेरो अभिनय छैन गीत मात्र गाएको हुँ भने । प्रदीपतर्फ हेर्नु र उत्तर दिन अक्मकिनुले कतै ‘रोज’मा प्रतापको पनि अभिनय छ कि भन्ने जिज्ञासा थपिदिएको छ । यो भन्दा अघि प्रदीपकै चलचित्र ‘प्रेम गीत २’, ‘लिलीबिली’मा पनि एक÷एक गीत गाएका थिए । केहिबर्ष यता प्रताप र प्रदीप नजिक छन् ।
प्रतापले पत्रकार भेटघाटमै चलचित्रमा काम गर्ने इच्छा जागेको पनि बताए । ‘यदि राम्रो चलचित्रका लागी अफर आउँछ भने म गर्न तयार छु, किनकि मलाई पहिले देखी चलचित्रमा अभिनय गर्ने इच्छा छ’, प्रतापले भने । कार्यक्रममा नायक प्रदीप खड्का र नायिका मिरुना मगरले चलचित्र ‘रोज’को विषयमा जानकारी गराए । अन्तिम समयमा आएर चलचित्रको नाम परिवर्तन, नायकले नायिकालाई मार्नुको कारण लगायतका विषयमा सञ्चारकर्मीहरूले जिज्ञासा राखेका थिए । मोफसल टुरमा नायक प्रदीप खड्का, नायिकाद्धय मिरुना मगर, परमिता आरएल राणा, गायक प्रताप दाससँगै चलचित्र निर्माण नियन्त्रक बुद्धिलाल मगर, हास्य कलाकार दिनेश काफ्ले, नव गायिका प्रज्ञा श्रेष्ठ लगायतको टिम छ । आइतबार इटहरी र धरानको कन्सर्ट सके लगत्तै सोमबार टिम झापा पुगेको छ । झापामा दमक र बिर्तामोडमा कन्सर्ट गरे लगत्तै टिम काठमाडौँ फर्किनेछ । काठमाडौँमा पनि दुईठाउँमा कन्सर्ट गरिने निर्माण नियन्त्रक बुद्धलालले जानकारी दिए । उद्धव पौडेल प्रस्तुतिकर्ता रहेको यो चलचित्र निरक पौडेलले निर्देशन गरेका हुन् ।