विकासराज आचार्यको निर्माण र निर्देशन रहेको चलचित्र ‘नाई नभन्नु ल ५’ले दोस्रो सातामा पनि राम्रो कमाई गरिसहेको छ । चलचित्रका वितरक सुनिल कुमार मानन्धरको अनुसार चलचित्रले दोस्रो साता सम्म चार करोड तीन लाखको कमाई गरिसकेको छ । व्यावसायिक रूपमा सफल भइरहेको यो चलचित्रले दर्शकको पनि राम्रो प्रतिक्रिया पाइरहेको छ ।
नाई नभन्नु ल सिरिजको नाई नभन्नु ल २ पछिको उत्कृष्ट सिरिज बनेको धेरैले प्रतिक्रिया दिएका छन् । यो चलचित्रमा अघिल्ला सिरिज जस्तै बाल कलाकार अनुभव रेग्मीको मुख्य भूमिका रहेको छ भने यही चलचित्रबाट बालकलाकारको रूपमा सेड्रिना शर्माले पनि डेव्यु गरेकी छिन् । चलचित्रमा यी दुईको केमेष्ट्री निकै जमेको छ । अझ विशेष सेड्रिनाको अभिनयलाई दर्शकले रुचाएका छन् । यी दुईको प्रगति देखेका भने अनुभव र सेड्रिनाका आमाहरू दङ्ग छन् । अनुभवकी आमा कविता रेग्मी भन्छिन् ‘सानै उमेरबाट छोराले लोभलाग्दो फ्यान फलोइङ बनाएको छ । गर्व लाग्छ जब बाटोमा अनुभवको आमा भनेर बोलाउनु हुन्छ ।’ त्यस्तै सेड्रिनाकी आमा बुनु शर्मा पनि छोरीको पहिलो चलचित्र हेरेर दङ्ग छिन् । भन्छिन् ‘पहिलो चलचित्रबाट यति धेरै माया पाएकी छिन् । परिवारका अन्य सदस्यहरू, साथीभाइहरूले निकै राम्रो प्रतिक्रिया दिनु भएको छ । सेड्रिनाको तारिफ सुन्दा खुसी छु । ’
तस्विर - कुशल घतानी