आजबाट प्रदर्शनमा आएको चलचित्र ‘रोज’ले शुक्रवार बिहान विशेष सो सम्पन्न गरेको छ । देशभर करिब ९५ हलमा प्रदर्शन भएको चलचित्रले मल्टिप्लेक्समा भने उच्च सो पाएको छ । युवा स्टार प्रदीप खड्का मुख्य भूमिका रहेको चलचित्र ‘रोज’ एक सस्पेन्स क्राइम थ्रिलर चलचित्र हो । यो चलचित्रमा प्रदीप फरक फरक गेटअपमा देखिएका छन् । प्रदीपको अपोजिट चलचित्रमा परमिता राणा र मिरुना मगरको मुख्य भूमिका रहेको छ ।

परमिता चलचित्रमा एक मोडलको भूमिकामा देखिएकी छिन् भने मिरुना अधिवक्ताको भूमिकामा देखिएकी छिन् । शुक्रवार बिहान आयोजना गरिएको विशेष सोमा चलचित्रका कलाकारहरू र सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको थियो । चलचित्र हेरिसके पश्चात् कलाकारको कामले प्रशंसा पाएको छ । प्राय लभरब्याईको भूमिकामा देखिएका प्रदीप यसमा एक सोझो केटाबाट हत्यारा सम्मको भूमिकामा देखिएका छन् । जसलाई दर्शकले रुचाएका छन् । त्यस्तै नायिकाद्धय परमिता राणा र मिरुना मगरले आफ्नो भूमिकालाई न्याय गरेको प्रतिक्रिया दिए । चलचित्र रोजलाई निरक पौडेलले निर्देशन गरेका हुन् ।