नायिका स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘बुलबुल’को छायाङ्कन सकिएको छ । साउनको अन्तिम हप्ताबाट छायाङ्कन सुरु भएको चलचित्र निर्धारित समयभन्दा अगाडि नै सकिएको निर्माण टिमले जानकारी गराएको छ । चलचित्रका निर्देशक विनोद पौडेलले एउटा गीतको काम बाँकी राखेर फिल्मको काम सकाएको बताए । चलचित्र बुलबुलमा टेम्पो चालक महिलाको कथालाई प्रस्तुत गराइएको छ ।
चलचित्रमा स्वस्तिमा खड्काले टेम्पो चालकको भूमिका निर्वाह गरेकी छिन् । यसै चलचित्रका लागी भनेर स्वस्तिमाले करिब एक महिनासम्म टेम्पो चलाउन सिकेकी थिइन् । चलचित्रको छायाङ्कन सकिएसँगै निर्माण पक्षले चलचित्रको प्रदर्शन मिति पनि सार्वजनिक गरेको छ । निर्माण पक्षको अनुसार चलचित्र भ्यालेन्टाइन डेको अवसरमा रिलिज हुने छ । नेपाली मिति अनुसार आउँदो फागुन ३ गते चलचित्र रिलिज हुने भएको छ ।
चलचित्रमा स्वस्तिमाको अलावा लक्ष्मी बर्देवा, बुद्धि तामाङ, मुकुन भुसाल, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, आशिका पाण्डे आदि कलाकारको अभिनय रहेको छ । सुसन प्रजापतिको छायाङ्कन रहेको चलचित्रलाई विनोद पौडेलले लेखेका हुन् । चलचिमा कोसिस क्षेत्री र उद्गम परियारको सङ्गीतमा रजिना रिमाल र निश्चल बस्नेतको स्वर सुन्न सकिन्छ । चलचित्रलाई पुरुषोत्तम पाण्डे, अबिरल थापा, भीम थापा र राजु पौडेल मिलेर निर्माण गरेका हुन् ।