यही आउँदो दसैँमा रिलिज हुने तयारीमा रहेको चलचित्र ‘छक्का पन्जा ३’ले आफ्नो प्रमोसन सुरु गरेको छ । बुधवार तिजको अवसरमा पारेर निर्माण युनिटले पशुपति परिसरमा चलचित्रको प्रचार गरेको थियो ।
लगातार हिट चलचित्र दिएका जोडी दीपकराज गिरी र दिपाश्री निरौलाको ‘छक्का पन्जा ३’ पाँचौँ चलचित्र हो ।यति बेला यो जोडी पाँचौँ चलचित्र हिट बनाउन लागिपरेका छन् ।
बुधवार दिउँसोबाट साँझसम्म छक्का पन्जा टिमले पशुपति परिसरमा तीज मनाउन पुगेका भक्तजनहरूलाई नचाएर, हँसाए रमाइलो गर्दै छक्का पन्जा ३को बारेमा जानकारी दिएका थिए । उक्त माहौलमा निर्देशक दिपाश्री निरौला र निर्माता तथा कलाकार दीपकराज गिरीले चलचित्रको गीतमा कम्मर मर्काएका थिए ।
कार्यक्रममा नेपाल आइडलका निशान भट्टराईले गीत गाउँदै दर्शक नचाएका थिए भने कलाकारद्धय सन्तोष खनाल र अमृता खनालले महादेव–पार्वती बनेर दर्शक हँसाए ।
चलचित्र छक्का पन्जा ३ को दुई गीत सार्वजनिक भइसकेको छ । जसमा पहिलो नम्बरमा बोलको गीत करोड क्लबमा प्रवेश गरिसकेको छ । चलचित्र छक्का पन्जा ३मा दीपकराज गिरीको साथमा केदार प्रसाद घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, दीपिका प्रसाई, प्रियंका कार्की लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।