बर्षको बहुप्रतिक्षित भनिएको चलचित्र ‘कृ’को प्रदर्शन मिति सारिएको छ । यस अघि भदौ ८ गते आउने भनिएको ‘कृ’ अब कात्तिक ३ गते प्रदर्शन हुने भएको छ । युवास्टार अनमोल केसीको मुख्य भूमिका रहेको ‘कृ’ यतिबेला धमाधम छायाँकन भइरहेको छ । छायाँकन मिति लम्बिएको कारण चलचित्रको प्रदर्शन मिति सार्नु परेको निर्माण टिमले जनाएको छ ।
यता सिंगल थिएटरकी रानीको रुपमा परिचित अभिनेत्री रेखा थापाले निर्माण गर्ने लागेको चलचित्र ‘रुद्रप्रिया’ पनि आउँदो तिहारमा प्रदर्शन हुने छ । रेखाले चलचित्र निर्माण घोषणा गरेँसँगै प्रर्दशन मिति घोषणा गरेकी थिइन ।
लगातार दुई चलचित्र अरुको ब्यानरमा काम गरेकी रेखाको दुवै चलचित्र फ्लप भएका थिए । यतिबेला उनी आफ्नै ब्यानरको चलचित्र ‘रुद्रप्रिया’को लागि निकै मेहनतको साथमा काम गरिरहेकी छिन् । बन्दिपुर लगायत पोखरा आसपासमा रुद्रप्रियाको सुटिङ भइरहेको छ । यसरी हेर्दा तिहारमा अनमोल केसी र रेखा थापाको थिएटरमा गज्जबकै लडाईं हुने देखिएको छ ।
त्यस्तै अनमोल पनि चलचित्र ‘कृ’ कै लागि सबैबाट टाढा रहेर केहि समय वर्कसप गरे । अहिलेसम्म अनमोलले काम गरेका कुनै चलचित्र पनि फ्लप भएको छैन । अनमोल केसीको चलचित्र र पछिल्लो समय उनले बनाएको क्रेजमाथि रेखा हाबी हुन सक्ने सम्भावना कम नै रहन्छ । त्यसो त सात बर्षपछि रेखा थापा र आर्यन सिग्देल एक साथ चलचित्रमा काम गर्दैछन् । यी दुईको जोडीको कारण पनि केही हदसम्म दर्शक चलचित्र हेर्न उत्सुक रहन सक्छन् ।
युवास्टार अनमोल केसी र अभिनेत्री रेखा थापाबीचको यो जुधाई साँचिकै रोमान्चक हुने देखिन्छ । कसको स्टारडम कति भनेर हेर्नको लागि भने आउँदो कात्तिक ३ गते पर्खनु पर्नेछ ।