निर्देशक सुदर्शन थापाको निर्देशन रहेको चलचित्र ‘रामकहानी’ यति बेला दोस्रो सातामा सफलताको साथ चलिरहेको छ । चलचित्रमा नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्माको केमेष्ट्रीलाई दर्शकले निकै रुचाएका छन् । दोस्रो साता पनि राम्रो गरिरहन्दा चलचित्रका नायक आकाश श्रेष्ठ भने यति बेला अझ दङ्ग छन् । उनी भन्छन् ‘सयौँ पटक हार खाएता पनि एक पटक मान्छे अवश्य सफल हुन्छ । जुन दर्शकको माया पाउन मेहनत गरेको थिए ।आज उहाँहरूले मलाई यति धेरै माया दिनु भएको छ । अबका दिनमा पनि यसरी नै माया र साथ पाउँछु होला । ’
यसअघि आकाश अभिनीत कुनै चलचित्रले खासै कमाल मच्चाउन सकेका छैनन् । हिटको हिसाबले आकाशको यो पहिलो हिट चलचित्र हो । छोराको सफलताको कारण पनि आकाशकी आमा दङ्ग छिन् । आइतबार कमलपोखरीस्थित बिग मुभिजमा रामकहानी हेरेर हलबाट निस्किँदै गर्दा आकाशकी आमाको आँखा रसाइरहेको थियो । उनी भन्छिन् ‘रामकहानीमा आकाशले निकै राम्रो काम गरेको छ । चलचित्रको अन्त्यको दृश्यले समालिन सकिन् ।’