भारतका चर्चित गायक कुमार सानुले नेपालमा कन्सर्ट गर्ने भएका छन् । ९० दशकका सबैभन्दा व्यस्त तथा सफल गायक कुमार सानुले याक एण्ड यती होटलमा आयोजना हुने कार्यक्रम ‘कुमार सानु लाइभ इन कन्सर्ट’ गर्न लागेका हुन । मुन्टेज इन्टरनेशनल र समसारा यूकेको सहकार्यमा हुन लागेको कार्यक्रममा नेपालका चर्चित गायक गायिकाहरुले पनि साथ दिने छन् । नेपालबाट गायक रामकृष्ण ढकाल, सुगम पोखरेल, देविका वन्दना, स्मिता घिमिरे, नायिका नम्रता सापकोटा, निशा अधिकारी, जितु नेपालको प्रस्तुति पनि रहनेछ । गायक रामकृष्ण, गायिका स्मिताले बलिउड गायकसँग एकै स्टेजमा गीत गाउन पाउनु आफूहरूका लागि खुसीको कुरा भएको बताए ।
गायक सानुले हिन्दीसंगै नेपालका थुप्रै चर्चित गीतहरु गाएका छन् । उनको स्वरमा ’यो कथा हो तृष्णा मेरो’, ’यो दुई थोपा आँसु’, ’फूल भए जिन्दगी’, ’साँची राँखु जस्तो लाग्छ’, ’सपना सपना’ जस्ता नेपाली गीत चर्चित छन् । कार्यक्रममा कुमार सानुले आफ्नो हिन्दी हिट गीतको साथमा नेपाली गीतहरु पनि गाउने छन् ।
कार्यक्रमबाट उठेको केहि रकम श्वेताश्री फाउन्डेसनलाई प्रदान गरिने कार्यक्रम संयोजकले बताए । दुई छिमेकी मूलुक नेपाल र भारतबीचको सम्बन्ध अझै सुमधुर बनाउनुका साथै गायक कुमार सानुको लाइभ कन्सर्टका कारण नेपालको पर्यटनमा भारतीय पर्यटनहरुको ध्यान अझै बढ्न सक्ने कार्यक्रम संयोजकले बताए । त्यस्तै गायक कुमार सानुले भिडियो मार्फत नेपालमा आएर गीत गाउन पाउनु आफ्ना लागि उत्साहको कुरा भएको बताएका छन्।