आज शुक्रवार चलचित्र हेर्ने योजनामा हुनुहुन्छ भने आजबाट तीन नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । जसमा रेनशा वान्तजा राईको निर्देशन रहेको ‘इन्टु मिन्टु लन्डनमा’, सबिर श्रेष्ठ निर्देशित ‘बाँध मायाले’ र जयकिसन बस्नेत निर्देशित ‘धूम ३’ रहेको छ । 
 

इन्टु मिन्टु लन्डनमा :– यो चलचित्रलाई चर्चित कोरियोग्राफर रेनशा वान्तवा राईले निर्देशन गरेकी हुन् । सिने नगरीमा मंहगी कोरियोग्राफरको रूपमा चिनिने रेनशाको यो डेव्यु चलचित्र हो । उनीसँगै यो चलचित्रबाट सिने नगरीमा नायक धिरज मगर डेव्यु गर्दैछन् । युकेमा बसोबास गर्दै आइरहेका धिरज युट्युबर पनि हुन् । चलचित्रमा धिरजको साथमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अपोजिट देखिएकी छिन् । आई को फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रलाई प्रज्वल शमसेर जबरा र प्रभु शमसेर जबराले निर्माण गरेका हुन् । यो चलचित्रको गीतसंगीत र ट्रेलरले निकै चर्चा पाइरहेको छ । सोही कारण पनि होला यो चलचित्रले अन्य बाकी चलचित्रहरू भन्दा मल्टिप्लेसका धेरै सो पाएको छ । चलचित्रमा धिरज र साम्राज्ञीको साथमा सारुक ताम्राकार, अर्जुन श्रेष्ठ, दिलभुषण पाठक, बिजय लामा, रुवी राणा लगायतका कलाकारको अभिनय रहेको छ । गत राती आयोजना भएको प्रिमियरमा चलचित्रले तारिफ पाएको थियो । 

बाँध मायाले :– यो चलचित्रलाई सबिर श्रेष्ठले निर्देशन गरेका हुन् । लभस्टोरीमा जनरामा बनेको चलचित्रमा पहिलो पटक नायक आर्यन अधिकारी र पुर्व मिस नेपाल सृष्टि श्रेष्ठ जोडीको रूपमा देखिएका छन् । आर्यन र सृष्टिको लागी बाँध माया अझ बिशेष छ । किनभने लगातार दुवैको चलचित्रहरू फ्लप भइरहेका छन् । सोही कारण पछिल्ला दिनहरुमा आर्यन र सृष्टि जोडतोडले प्रमोसनमा लागेका छन् । चलचित्रमा किशोर खड्का, राजाराम पौडेल, रविन्द्र प्रताप सेन, विशाल चाम्लिङलगायतको अभिनय छ ।

धूम ३ :– बिना कुनै प्रमोसन रिलिज भएको चलचित्र हो धूम ३ । चलचित्रलाई जय किसन बस्नेतले निर्माण तथा निर्देशन गरेका हुन् ।