आज शुक्रवार नेपाली सिनेमाघरमा तीन नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । जसमा निकै विवादित रहेको ‘कथा काठमाडौँ’, पत्रकार ऋषि धमलाको निर्माण रहेको ‘अनुराग’ र ‘छिरिङ रहेको छ ।
कथा काठमाडौँ – चलचित्र कथा काठमाडौँलाई सञ्चारकर्मी सङ्गीता श्रेष्ठले निर्देशन गरेकी हुन् । यो चलचित्रको एक गीत जसमा कलाकारद्धय प्रियङ्का कार्की र प्रमोद अग्रहरीको इन्टिमेट सेन रहेको छ , त्यसको कारण निकै विवादित भएको थियो । तीन कथाहरूलाई संयोजन गरी बनाइएको चलचित्रले घरेलु हिंसा लगायतका कुरा भन्छ । चलचित्रमा प्रमोद र प्रियङ्काको अलावा आयुष्मान देशराज जोशी, सन्ध्या केसी, संयोग कोइराला, प्रेक्क्षा अधिकारीको मुख्य भूमिका रहेको छ । चलचित्रमा कथा निर्देशक स्वयंमको रहेको छ । लुजा सिंहको छायाङ्कन रहेको चलचित्रलाई विजय राईले निर्माण गरेका हुन् ।
अनुराग – म्युजिकल लभस्टोरीमा बनेको चलचित्र ‘अनुराग’लाई सञ्चारकर्मी ऋषि धमलाले निर्माण गरेका हुन् । चलचित्रमा धमलाकी श्रीमती एलिजा गौतमको मुख्य भूमिका रहेको छ । यो चलचित्रलाई सत्यराज चौलागाईँले निर्देशन गरेका हुन् । चलचित्रमा एलिजाको अलावा मामा समुन्द्र पण्डित, राजाराम पौडेल, सरोज खनाल, रुपा राना लगायतको पनि मुख्य भूमिका रहेको छ ।
छिरिङ्ग– गायक तथा नायक यश कुमारको डेव्यु निर्देशनमा बनेको चलचित्र हो– ‘छिरिङ्ग’ । चलचित्रमा बहुपति प्रथाको साथमा मस्तिष्क प्रत्यारोणको कथालाई उठाइएको छ । चलचित्रमा अर्का गायक निमा रुम्बाको पनि मुख्य भूमिका रहेको छ । यो चलचित्रमा निमा र यश कुमारको साथमा नायिका कामना भुजेलको अभिनय रहेको छ ।