अन्तरदेशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गर्ने ‘प्रेमलिला’को फस्ट लुक सार्वजनिक भएको छ । बुधवार अनामनगरमा आयोजक कार्यक्रममा फिल्मको पहिलो झलक सार्वजनिक गरिएको हो । योसँगै फिल्मले प्रदर्शन मिति पनि सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा जानकारी गराइए अनुसार फिल्म माघ २५ मा देशभर रिलिज हुनेछ । फस्टलुकमा दीपशिखाको कपाल खौरिएको फोटो मात्र सार्वजनिक गरिएको छ ।
फिल्ममा दीप शिखा खड्का, अलि खान र मौसम खड्काको अभिनय रहेको छ । दुबईमा मोडलिङ गर्दै आएका अलि खानले फिल्ममा भारतबाट नेपाल घुम्न आउने पर्यटकको भूमिका निर्वाह गरेका छन् । उनले दीपशिखासँग दुबईमा भेट भएको र उनले फिल्म खेल्न एप्रोच गरेका कारण फिल्म खेलेको बताए । उनले भने, ‘दुबईमा दीपशिखासँग भेट भएको थियो । उनले फिल्मको बारेमा बताएकी थिइन् । पछि कथा चित्त बुझ्दो भएपछि खेल्न राजी भएको हुँ । आगामी दिनमा पनि नेपाली फिल्म खेल्न तयार छु ।’दीप शिखा खड्काकै कथा तथा लेखन रहेको फिल्मलाई पवन गौतमले खिचेका हुन् । जनक पाण्डेले निर्देशन गरेकोमा फिल्ममा नानीमैया कार्की र फैजिल फिल्मसङको लगानी रहेको छ । फिल्मलाई सुनिल मानन्धरले वितरण गर्न लागेका हुन् ।