केही दिन अघि अभिनेत्री परमिता राणाले आफ्नो २५औँ जन्मदिन मनाइन । जन्मदिन पार्टीमा परमितालाई उनको प्रेमीले औँठी उपहार दिएका थिए । मिडियामा परमिताको इन्गेजमेन्ट भयो भन्ने समाचारहरू पनि आए । यही वर्ष अभिनेता आयुष्मान देशराज जोशी र प्रियङ्का कार्कीले इन्गेजमेन्ट गरेको कारण पनि परमिताले इन्गेजमेन्ट गरेको हुनसक्ने आकलन गरे । किनभने परमिता र आयुष्मान लामो समयसम्म एकअर्काको प्रेम सम्बन्धमा थिए । तर परमिता भने आफ्नो इन्गेजमेन्ट नभएको बताउँछिन् । उनले फेसबुकमा समेत स्टाटस लेख्दै आफ्नो प्रेमीले औँठी उपहार मात्र दिएको बताएकी छिन् ।
सिनेपाटीमा दिएको अन्तवार्तामा परमिता भन्छिन् ‘औँठी जन्मदिनको उपहार मात्र हो। धेरैले यसलाई इन्गेजमेन्ट सोच्नु भएको रहेको छ । इन्गेन्टमेन्ट हुन अझै समय बाँकी छ । कम्तीमा १० वर्ष!’ । विवाह, इन्गेजमेन्टको बारेमा भन्दा अहिले करियरमा फोकस रहेको परमिता बताउँछिन् । हालसालै परमिता अभिनीत ‘रोज’ रिलिज भएको थियो । व्यावसायिक हिसाबले सफल हुन नसके पनि उनको अभिनयले तारिफ पाएको थियो । उनी अभिनीत ‘चङ्गा चैट’ र ‘कर्मा’ रिलिजको क्रममा रहेको छ ।