चलचित्र ‘चङ्गा चेट’को ट्रेलर सार्वजनिक भएको छ । कात्तिक १६ गते प्रदर्शन मिति तय गरिएको चलचित्रको ट्रेलर आइतबार राजधानीमा एक कार्यक्रम गर्दै सार्वजनिक गरिएको थियो । डार्क कमेडी जनरामा बनेको चलचित्रको ट्रेलरमा चलचित्रका अधिकांश कलाकारहरू अटाएका छन् । ट्रेलरमा तीन युवाको कथालाई प्रस्तुत गरिएको छ । 

यो चलचित्रलाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । चलचित्रमा माधव वाग्ले र शर्मिला पाण्डेको लगानी रहेको छ। चलचित्रमा प्रियङ्का कार्की, आयुष्मान देशराज जोशी, सन्दीप क्षेत्री, परमिता आरएल राणा, रविन्द्र झा, सुरक्षा पन्त, अपर्ण थापा, माओत्से गुरुङ, ऋचा शर्मा, बेनिशा हमाल, शिशिर वाङ्देल, पुष्कर गुरुङ, सरिता गिरी लगायतका कलाकारको अभिनय रहेको छ । प्रिन्सेस मुभिजको ब्यानरबाट निर्माण भएको चलचित्र चलचित्रमा प्रदीप भारद्धाजको पटकथा र संवाद रहेको छ भने राजनराज सिवाकोटी, कोसिस क्षेत्री र अल्मोडा राना उप्रेतीको सङ्गीत रहेको छ ।