केही दिन अघि मात्र छायाङ्कन सकिएको चलचित्र ‘बादशाह जुट’को पहिलो गीत सार्वजनिक भएको छ । काठमाडौँमा आयोजना भएको एक कार्यक्रमबिच चलचित्रको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा राजनराज सिवाकोटी र मेलिना राईको आवाज रहेको छ भने डी पी खनालको शब्द रहेको छ ।

गीतमा कृष्ण भारध्वजको सङ्गीत रहेको छ । यो गीतमा चलचित्रका नायक सुशील श्रेष्ठ र अभिनेत्री प्रियङ्का कार्कीको नृत्य रहेको छ । फिल्म एच एन्ड बी फिल्म्स र गोल्डेन ग्रेप्स फिल्म्स एन्ड इन्टरटेन्मेन्टको ब्यानरबाट निर्मित चलचित्रमा सुशील श्रेष्ठसँगै आमिर गौतम, केइसा रावत, रोशी खड्का, रश्मि पाण्डे, रोविन तामाङ लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई जोनी सिंह राणाले निर्देशन गरेका हुन् ।