आजबाट चलचित्र ‘छक्का पञ्जा ३’ रिलिज भएको छ । दशैँको पहिलो दिन अर्थात् घटस्थापनाको अवसर पारेर रिलिज भएको चलचित्रले मल्टिप्लेक्स र सिंगल थिएटरमा आक्रमक सुरुवात गरेको छ । उपत्यकाको अधिकांश शोहरु हाउसफुल छ भने सिंगल थिएटरमा पनि बिहानी सोबाट आक्रमक सुरुवात गरेको छ । घटस्थापनाको दिन सार्वजनिक बिदा नभए पनि हलमा दर्शकको ओइरो देखेर दङ्ग भएका दीपकराज गिरी भन्छन् ‘सार्वजनिक बिदा नभए पनि दर्शकले विश्वास गरेर हल सम्म आइदिनु भएको छ ।’ दीपकराज चलचित्रका निर्माता, लेखक साथै कलाकार हुन्। हलमा दर्शकको प्रतिक्रिया सुनिरहेकी चलचित्रकी निर्देशक दिपाश्री निरौला दर्शकले छक्का पञ्जा ३को विषयवस्तुलाई मन पराएको सुनाउँछिन् । ‘यस पटक हामीले केही फरक विषय बस्तु उठाएका छौ । प्राय चलचित्रमा ८० प्रतिशत हास्यव्यङ्ग्य हुन्थ्यो भने यस पटक ८० प्रतिशत चलचित्रको विषयवस्तुमा केन्द्रित भएका छौ । जसलाई दर्शकले स्वीकार गरिदिनु भएको छ । ’ उनी भन्छिन् ।