चर्चित र्यापर आशिष राना उर्प लाउरे चलचित्रमा पुन देखिने भएका छन् । उनी नयाँ चलचित्र ‘लाहुरेको र्याप’ नामक चलचित्रमा अनुबन्धित भएका हुन् । र्याप ब्याटलबाट चर्चामा आएका लाउरे पछिल्लो समय टेलिभिजन रियालिटी शो ‘रोडिज्’मा ब्यस्त छन् । ‘रोडिज्’ सकिएसँगै उनी लाहुरेको र्यापमा ब्यस्त हुनेछन् । हाल लाउरे र निर्माण यूनिट बिच लिखित सम्झौता भइसकेको छ । यो चलचित्रमा लाउरेसँगै सोनाम पाख्रिन पनि फाइनल भएका छन् । उनी जिन्दगी रक्सका डेव्यु नायक हुन् । यी दुई कलाकारबाहेक अन्य कलाकारहरु केही दिन भित्रमा फाइनल गरिने निर्माण पक्षले बताएको छ । चलचित्रलाई पासाङ योन्जनले निर्देशन गर्ने भएका छन् भने कथा पनि उनकै रहेको छ । उनी कार्यक्रम प्रस्तोतासँगै म्युजिक भिडियो निर्देशक पनि हुन् । निर्माण पक्षको अनुसार चलचित्रको हाल कथाको काम भइरहेको छ । माघमा अफिसियल अनाउन्समेन्ट गरिने चलचित्रको छायाँकन भने फागुनबाट सुरु हुने छ । कसम नेपालको स्क्रिप्ट, हरी हुमागाईंको छायांकन रहने चलचित्रलाई निर्माण दावा शेर्पाले गर्न लागेका हुन् ।