बलिउडकी दीपिका पादुकोण होस या कलिउडकी दीपिका प्रसाईँ यी दुवैको चर्चा यति बेला व्यापक छ । केही समयअघि पादुकोणले अभिनेता रणवीर सिंहसँग आफ्नो विवाहको मिति घोषणा गरेकी थिइन् भने यति बेला नेपालकी दीपिका प्रसाईँले निर्देशक दिवाकर भटट्राईसँग इन्गेजमेन्ट गरेको घोषणा गरेकी छिन । नेपाली चलचित्र ‘ऐश्वर्य’बाट डेव्यु गरेकी दीपिकाले सोही चलचित्रका डेव्यु निर्देशक दिवाकर भट्टराईसँग इन्गेजमेन्ट गरेकी हुन् । करिब ४ वर्ष देखि एकअर्काका प्रेममा रहेका दीपिका र दिवाकरले चलचित्र ऐश्वर्य रिलिज पश्चात् कोर्ट म्यारिज गरेका थिए । सिने नगरीमा यी दुईको प्रेम चर्चा निकै हुने गर्दथ्यो । यी दुई दसैँको टिकाको केही दिन पछि इन्गेजमेन्ट गरेका हुन् । बुझिए अनुसार यो जोडी मङ्सिरमा लगन गाँठो बाँध्ने तयारीमा रहेका छन् । यति बेला दीपिका अभिनीत ‘छक्का पन्जा ३’ हलमा प्रदर्शन भइरहेको छ । चलचित्रले १७ दिनमा नै १६ करोड कमाई सकेको निर्माण पक्षले जनाएको छ भने यता दिवाकरको निर्देशन रहेको अनमोल केसी अभिनीत ‘क्याप्टेन’ रिलिजको तयारीमा रहेको छ ।