मल्टिस्टारर चलचित्रको फाइदा मध्ये एक हो –चलचित्र प्रमोसन । चलेका कलाकारहरूको भिड भएपछि पक्कै पनि प्रमोसनलाई सहज हुने गर्दछ । तर यही शुक्रवार यानिकि कार्त्तिक १६ गते रिलिज हुन लागेको चलचित्र ‘चङ्गा चैट’मा यो कुरा उल्टो भएको छ । करिब दर्जन भन्दा बढी चलेका कलाकारहरूको अभिनय रहेको चङ्गा चैटको हाल प्रमोसन शून्य छ । यो चलचित्रमा प्रियङ्का कार्की, आयुष्मान देशराज, परमिता राणा, सुरक्षा पन्त, सन्दीप क्षेत्री, रविन्द्र झाको साथै अर्पण थापा, बेनिशा हमाल, ऋचा शर्मा लगायतका कलाकारको अभिनय रहेको छ । तर चलचित्रमा प्रमोसनमा भने यी कलाकार मध्ये कोही अगाडी छैनन् ।

यति बेला प्रियङ्का र आयुष्मानको जोडी ‘प्रेम दिवस’को छायाङ्कनको लागी इलाममा पुगेका छन् । त्यस्तै सन्दीप क्षेत्री आफ्नै सो र कार्यक्रमहरुमो व्यस्त छन् । यता रविन्द्र झालाई चलचित्र सुटिङ भ्याइनभ्याइ छ । त्यस्तै अभिनेत्रीद्धय परमिता राणा र सुरक्षा पन्त प्रमोसनमा गुमनाम नै छन् । बेनिशा, ऋचा, अर्पण चलचित्रमा गेस्ट रोलमा छन् । उनीहरू प्रमोसनमा हिँड्ने कुरै भएन । यो चलचित्रलाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । चलचित्रलाई लुट निर्माता माधव वाग्ले र लभ लभ लभ निर्माता शर्मिला पाण्डे मिलेर निर्माण गरेका हुन् ।