चलचित्र ‘दि ब्रेकअप’को पहिलो गीत सार्वजनिक भएको छ । नेपालीहरुको दोस्रो महान चाड मानिने तिहारको अवसरमा चलचित्र टिमले दर्शकलाई उपहार स्वरुप नयाँ गीत सार्वजनिक गरेको हो । मंगलबार युट्युब मार्फत सार्वजनिक गरिएको गीत दशक पहिलेको सुपरहिट गीत हो । दशक अघिको चलचित्र ‘ज्वाला’मा समावेश रहेको ‘आज हाम्रो भेट भाको दिन’लाई नयाँ भर्जनमा निर्माण पक्षले सार्वजनिक गरेको छ । दशक’ज्वाला’ फिल्ममा समावेश हुँदा उक्त गीतमा बुद्धवीर लामाको शब्द र शिला बहादुर मोक्तानको संगीतमा स्वर आशा भोस्ले र उदितनारायण झाले दएका थिए ।
’न्यू भर्सन’मा आउँदा यो गीतमा स्वर विराज गौतम र मेलिना राईको छ, एरेञ्ज ब्रिजेश श्रेष्ठले गरेका छन् । ’ज्वाला’मा कम्मर मर्काएका अभिनेता सरोज खनाल संयोगबस यो पटक पनि आफ्नै स्टेपमा देखिएका छन् ।कविराज गहतराजले कोरियोग्राफी गरेको गीतमा ’दि ब्रेकअप’का मुख्य कलाकारहरु खनालसँगै आशिरमान देशराज जोशी, शिल्पा मास्के, रेनदास श्रेष्ठ, इच्छा कार्की फिचर छन् । हेमराज बिसीको निर्देशनमा बनेको चलचित्रलाई नरेन्द्र मैनालीले छायाँकन गरेका छन् । चलचित्रलाई रुपक थापा, दीपक खतिवडा, रेनु राना र निर्देशक बिसीले संयुक्त लगानीमा निर्माण गरेका हुन् । नेपाल र अष्ट्रेलियामा छायाँकन गरिएको चलचित्रको कथा पनि निर्देशक बिसीको नै हो । सुरेन्द्र पौडेलले सम्पादन गरेको चलचित्र ’दि ब्रेकअप’ आगामी पौष २७ बाट दर्शकमाझ आउँदैछ ।