अभिनेता निखिल उप्रेती प्रोडक्सनको ब्यानरमा बनेको चलचित्र ‘रुद्र’को पहिलो पोस्टर सहित प्रदर्शन मिति सार्वजानिक गरिएको छ । यस्तै चलचित्रको प्रदर्शन मितिमा भने केहि हेरफेर गरिएको छ । साउन २० गते प्रदर्शन हुने भनिएता पनि ‘रुद्र’ निर्माण टिमले चलचित्रलाई एक हप्ता अघि सारेको हो । ‘रुद्र’ अब साउन १३ गते प्रदर्शन हुने छ । रामजी लामिछानेको निर्देशनमा तयार भएको चलचित्र ‘रुद्र’ एक हप्ता सार्नुमा  निर्माण टिमले कुनै कारण खुलाउन चाहेका छैनन् । तर, बुझिए अनुसार उक्त मितिमा बलिउड अभिनेता शाहरुख खान र अनुष्का शर्मा अभिनित चलचित्र ’जब ह्यारी मिट सेजल’ प्रदर्शन हुने भएकाले प्रदर्शन मिति अगाडी सारिएको हो ।
 पहिलो पल्ट खलनायकको भुमिकामा देखिन लागेका एक्सन स्टार निखिल उप्रेती सार्वजानिक पोस्टरमा फरक लुक्समा देखिएका छन् । चलचित्र ‘रुद्र’मा निखिलको साथमा नव नायिका सारा र नायक विश्वको साथमा रोयदिप श्रेष्ठ, जितेन लामा, भाष्कर ओली, ज्याक श्रेष्ठ, रोशन पोखरेल, शिशिर भण्डारी, अनिल पाण्डे अभिनय रहेको छ । लभ स्टोरीको साथमा एक्सन जनरामा बनेको चलचित्रमा हिमाल केसीको द्वन्द्व रहेको छ ।