चलचित्र ‘बिर बिक्रम २’को अफिसियल घोषणा गरिएको छ । २०७३ सालमा रिलिज भएको चलचित्र ‘बिर बिक्रम’को सिक्वेलको रुपमा बिहीबार राजधानीमा एक विशेष कार्यक्रम गर्दै ‘बिर बिक्रम २’को घोषणा गरिएको हो । चाम्स इन्टरटेन्मेन्ट र लन्डन सिने आईको ब्यानरबाट बन्न लागेको चलचित्रलाई मिलन चाम्सले निर्देशन गर्दैैछन् ।
चलचित्रमा पुराना कलाकारको रूपमा नाजिर हुसेन मात्र दोहरिने छन् भने नयाँ कलाकारको रूपमा यस चलचित्रमा नायक आकाश श्रेष्ठ, नायिका बर्षा सिवाकोटी, बुद्धि तामाङ रहने छन् । त्यस्तै बालकलाकारको रूपमा मनिष लिम्बुले डेव्यु गर्दैछन् । चलचित्रमा नाजिर, आकाश र वर्षाको अलावा बिनिशा भण्डारी, शिशिर राणा, क्षितिज सुवेदी लगायतका कलाकारको अभिनय रहने छ । चलचित्र युनिटले कलाकारलाई भव्य रूपमा स्वागत गर्दै चलचित्रको घोषणा गरेको थियो । तिहार लगत्तै छायाँकन सुरु हुने चलचित्रका निर्माता पनि मिलन चाम्स हुन् । चलचित्रमा सह निर्माताको रूपमा अर्पण सापकोटा रहेका छन् । बिर बिक्रम २को कथा प्रदिप भारद्धाजले लेखेका हुन् । चलचित्रमा संगीत रंजित गजमेर, राजनराज सिवाकोटी, तारा प्रकाश लिम्बुको रहने छ । सुदिप बरालको छायाँकन रहने चलचित्रमा कोरियोग्राफी कविराज गहतराजको रहने छ । चलचित्रमा द्धन्द्ध हिमाल केसी, सम्पादन बनिष शाहको रहने छ ।