केही दिन अघि सार्वजनिक भएको चलचित्र ‘जात्रै जात्रा’को टिजर यति बेला चर्चामा छ । २०७३ सालको सुपरहिट चलचित्र जात्राको सिक्वेल जात्रै जात्राको टिजरमा चलचित्रका मुख्य तीन कलाकार विपिन कार्की, रविन्द्र झा र रविन्द्रसिंह बानियाँ फिचर्ड छन् । टिजरमा सरप्राइजको रूपमा अर्का अभिनेता दयाहाङ देखिएका छन् । प्रदीप भट्टराई निर्देशित ‘जात्रै जात्रा’ को टिजर यति बेला चर्चामा छ । युट्युबमा आएको प्रतिक्रिया हेर्ने हो भने धेरैले यसको संवाद रुचाएका छन् । टिजरमा रविन्द्र झाले बोलेको यो संवाद ‘न डुब्नलाई रानीपोखरी छ, न हामफाल्नलाइ नौ तल्ले धरहरा छ, साला काठमाडौँमा सजिलोसँग मर्ने वातावरण नि छैन यार ।’ लाई दर्शकले रुचाएका छन् । टिजरमा नायिका वर्षा राउतलाई लुकाइएको छ । टिजर रिलिजसँगै छायाङ्कन सुरु भएको चलचित्र आउँदो फागुन १७ गते रिलिजको तयारीमा रहेको छ । चलचित्रमा लेखन निर्देशक भट्टराईको रहेको छ । यो चलचित्रलाई रविन्द्र सिंह बानियाँ, सिंगे लामा, यादव पौडेलले निर्माण गरेका हुन् ।