छायाङ्कनमा अगावै चर्चामा रहेको चलचित्र ‘दाल भात तरकारी’को शुभमुर्हत गरिएको छ । मङ्गलवार काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा चलचित्रको मुर्हत गरिएको थियो । चलचित्रका निर्माता किरण केसीका अनुसार शुभ मुर्हतको लागी ज्योतिषलाई साइत हेराइएको थियो । शुभसाइतमा चलचित्रका नायक पुष्प ल खड्का र नायिका आँचल शर्माले डाइलग बोलेका थिए । मह सञ्चारको प्रस्तुति र किरण केसीको निर्माणमा बन्न लागेको चलचित्रलाई किरण केसीका सुपुत्र सुदन केसीले निर्देशन गर्दैछन् ।
चलचित्रको छायाङ्कन मङ्सिर १ गतेबाट सुरु हुने छ । यो चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, वसुन्धरा भुसाल, सन्तोष पन्त, शिवहरि पौडेल, निरुता सिंह, किरण केसी, राजाराम पौडेल, प्रियङ्का कार्की, वर्षा राउत, पुष्पल खड्का, आँचल शर्मा, शिशिर वाङ्देन लगायतका कलाकारको अभिनय रहने छ । गतबर्ष यो टिमले बनाएको ‘शत्रु गते’ले ५१ औँ दिन मनाउन सफल भएको थियो । चलचित्र आउँदो नयाँ वर्षको अवसर पारेर वैशाख १३ गते रिलिज गर्ने तयारीमा रहेको निर्माण पक्षले बताएको छ ।