चलचित्र ‘सयकडा दश’को पहिलो गीत सार्वजनिक भएको छ । निर्माण पक्षले चलचित्रको अफिसियल प्रमोसन सुरु भएको जानकारी दिँदै गीत सार्वजनिक गरेको हो । ‘दाइलाई कुरा लाइदिनी..’बोलको सार्वजनिक गीतमा तृषला गुरुङ र सन्देश पाठकको स्वर रहेको छ भने कल्याण सिंहले कम्पोज गरेका हुन् । चलचित्रमा शब्द भने निर्देशक रामशरण पाठकको रहेको छ । यसअघि पाठकले प्रेमगीत २ निर्देशन गरेका थिए । भ्रष्टाचार विरुद्ध सदाचार सन्देश बोकेको फिल्म ‘सयकडा दश’ले पहिलो गीतमाअमृत ढुङ्गाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, रवि डंगोल फिचर्ड छन् । मुख्य पात्रको वैवाहिक समारोहलाई चित्रण गरिएको गीतलाई पोखरा माटेपानीस्थित भद्रकाली मन्दिरमा छायांकन गरिएको हो । भ्रष्टाचारले प्रेम, परिवार र समाजमा पारेको प्रभावको कथा चलचित्रले पेश गर्छ । मनोज गजुरेल र राजाराम पौडेल समेत मुख्य भूमिकामा छन् । दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रलाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गरेका हुन् । साजन थापा सहनिर्माता हुन् । यो चलचित्र माघ १८ गतेबाट प्रदर्शनको तयारीमा रहेको छ ।