युवापुस्तामा लोभलाग्दो क्रेज बनाएका नायक–नायिका हुन् प्रदीप खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह । दुवैको सिनेनगरीमा एकप्रकारको स्टारडम रहेको छ । विगत केही समय देखि प्रदीप र साम्राज्ञीलाई एकसाथ चलचित्र खेलाउन धेरै निर्माता, निर्देशक पछि छन् । तर निर्देशक हेमराज बिसी यसमा सफल भएका छन्। हेमराज बिसीको अनटाइटल चलचित्रमा प्रदीप र साम्राज्ञी फाइनल भएका हुन् । साम्राज्ञीले यो चलचित्रको लागी महँगो पारिश्रमिक लिएको बुझिएको छ । बुभिएअनुसार साम्राज्ञीले १५ लाखमा यो चलचित्र साइन गरेकी हुन् । यसअघि उनले ‘कायरा’मा अभिनेता आर्यन सिग्देलसँग १० लाख लिएकी थिइन् । यता महँगो पारिश्रमिक लिने मध्यका नायक प्रदीप खड्काले कति पारिश्रमिक बुझे भन्ने खुलाइएको छैन । यो चलचित्र आउँदो वर्षको जेठबाट छायाङ्कनमा जाने चर्चा रहेको छ । विदेशको विभिन्न स्थानमा चलचित्रको छायाङ्कन गरिनेछ । चलचित्रलाई ह्याप्पी प्लानेटको तर्फबाट रेणु राणा, दीपक खतिवडा, रुपक थापा, अमन कुमार भण्डारी र काफिया फिल्मसङको तर्फबाट काफिया शाही र कविरविक्रम शाहीले निर्माण गर्नेछन् ।