चलचित्र गरुड पुराणले चलचित्र प्रदर्शन मिति तय गर्दै फस्ट लुक्सको रूपमा आइतबार पोस्टर रिलिज गरिएको छ । निर्देशक सुवास कोइरालाले आगामी ४ माघमा यो चलचित्रको रिलिज मिति तय गरेका छन् । गरुड पुराणलाई मोफसल वितरक एफडी कम्पनी र काठमाडौँ वितरक कम्पनी स्टेसन फाईबले ४ माघलाई प्रदर्शन मिति तय गरेको हो । आइतबार रिलिज गरिएको पोस्टरमा अभिनेता नाजिर हुसेनलाई ब्यान्ड मास्टरको रूपमा प्रस्तुत गरिएको छ । अभिनेताहरू कर्मा शाक्य, प्रवीण खतिवडा, कामेश्वर चौरसिया, र अभिनेत्री प्रियङ्का सिंह ठकुरी पोस्टरमा समेटिएका छन् ।
अजित प्रजापति र अशोक गौतमले निर्माण गरेको यो चलचित्रमा लुमिना तुलाधर, बसन्ध भट्ट, प्रकाश घिमिरे, कमल देवकोटा, सरोज श्रेष्ठ पनि मुख्य भूमिकामा छन् ।
पारिवारिक प्रेमकथामा आधारित आफ्नो सिनेमा हास्य प्रधान जनरामा तयार भएको निर्देशक कोइरालाले बताए । आकाश बराल, बिनोल खतिवडा र सुवास आफैँले लेखेको यो चलचित्रको कथा कसम नेपालको हो ।
रेनेशा बान्तवा राईको कोरियोग्राफी रहेको यो चलचित्रमा कोसिस क्षेत्रको सङ्गीत, कोशिस र मनीषा पोखरेलको गायन, सुसन प्रजापतिको छायाङ्कन, उज्ज्वल ढकालको सम्पादन रहेको छ ।