नेपाली चलचित्र क्षेत्रकी पहिलो नायिका भुवन चन्दले चलचित्र निर्माण गर्ने भएकी छिन् । चन्दले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै चलचित्रको निर्माणको अफिसियल घोषणा गरेकी हुन् । चलचित्रको नाम साइनो राखिएको छ । चलचित्र पारिवारिक प्रेम कथा वरिपरि रहने छ । यो चलचित्रलाई रमेश थापाले निर्देशन गर्ने भएका छन् । चलचित्रमा भुवन चन्द स्वयम् देखिने भएकी छिन् भने उनीसँगै निता ढुङ्गाना, मिरुना मगर, वसुन्धरा भुसाल, मदनदास श्रेष्ठ, शिखा तामाङ, राजा राजेन्द्र पोखरेको साथमा नव–कलाकार राज कुमारको अभिनय रहने छ । चलचित्रको भोलि यानिकि सोमबारबाट नै छायाङ्कन सुरु हुने छ । ४० दिनको छायाङ्कन सेड्युल राखिएको चलचित्रको लेखन अभिमन्यु निरबीको रहेको छ भने बनिष शाहको सम्पादन रहेको छ । त्यस्तै चलचित्रमा छायाङ्कन रामेश्वर कार्की, कोरियोग्राफी रामजी लामिछानेको रहने छ भने एक्सन रोशन विक्रम भट्टराई र सङ्गीत वसन्त सापकोटाको रहने छ ।