चलचित्र ‘गोपी’को पहिलो गीत सार्वजनिक भएको छ । ‘लक्ष्मी कहिले काली’ बोलको गीत बुधबार सार्वजनिक गरिएको हो । गीतमा साहित्यकार बुद्दिसागर शब्द रहेको छ भने अर्जुन पोखरेलको संगीत रहेको छ । अर्जुनले यो गीत आफ्नो पिता बाबुराम पोखरेलसँग मिलेर कम्पोज गरेका हुन् । भजन शैलीमा बनेको गीतमा स्वर ध्रुव बिस्को र एन्जिला रेग्मीको रहेको छ । 

बुधबार रिलिज भएको गीतमा फिल्मका मुख्य कलाकार विपिन कार्की, वर्षा राउत, अंकित खड्का, भोला सापकोटा लगायतले नृत्य गरेका छन् । भिडियोलाई गोविन्द राईले कोरियोग्राफी गरेका हुन् । आरोही इन्टरटेनमेन्टका लागि आरोही केसीद्वारा निर्मित तथा दीपेन्द्र लामाद्वारा निर्देशित गोपी नेपालभर माघ १८ गते प्रदर्शनमा आउँदैछ । सामिप्य तिमल्सेना लेखक र श्रीधर पौडेल कार्यकारी निर्माता रहेको चलचित्रमा शैलेन्द्र डि कार्कीले छायांकन र निमेष श्रेष्ठले सम्पादनको जिम्मेवारी सम्हालेका छन् । चलचित्रमा सुरक्षा पन्त, प्रकाश घिमिरे, रमेश अधिकारी, सरोज अर्याल, कमलमणि नेपाल, हिउँबाला गौतम लगायतको पनि अभिनय हेर्न पाइनेछ ।