चलचित्र ‘दि ब्रेक अप’को नयाँ गीत सार्वजनिक भएको छ । यस अघि ‘हिजो अस्ति..’ बोलको गीत सार्वजनिक भएको थियो । उक्त गीतको सफलतासँगै चलचित्र टिमले शुक्रवार दोस्रो रोमान्टिक गीत सार्वजनिक गरेको छ । हालै सार्वजनिक भएको ‘हरपल..’ बोलको गीतमा चलचित्रका मुख्य दुई कलाकार आशिरमान देशराज र शिल्पा मास्केको केमेन्ट्रिलाई प्रस्तुत गरिएको छ । केही इन्टिमेट सिन समेत रहेको उक्त गीतमा आशिर र शिल्पाको जोडीलाई सुन्दर देखिएको छ । सार्वजनिक गीतमा प्रकाश मल्लको शब्द, बिराज गैतमको सङ्गीत तथा स्वर छ ।

 यो चलचित्रलाई हेमराज बिसीले निर्देशन गरेका हुन् । चलचित्रमा आशिरमान र शिल्पाको अलावा रेमनदास श्रेष्ठ, सरोज खनाल, इच्छा कार्कीको मुख्य भूमिका रहेको छ । चलचित्रमा निर्देशक बिसीको साथै रुपक थापा, दीपक खतिवडा, रेनु राणाको संयुक्त रूपमा लगानी रहेको छ ।पौष २७ गते प्रदर्शनको तयारी रहेको चलचित्रको कथा तथा पटकथा हेमराज बिसीको रहेको छ भने छायाङ्कन नरेन्द्र मैनालीको रहेको छ । चलचित्रमा कारियोग्राफी कविराज गहतराजले गरेका हुन् ।