दसैँका फुलपातीको दिन रिलिज भएको चलचित्र ‘जय भोले’ले राजधानीको चार हलमा ५१ औँ दिन पुरा गरेको छ । बुधवार रिलिजको ५१ औँ दिन पुगेता पनि निर्माण टिमले शुक्रवार मनाएको हो । जय भोले निर्माण टिमले चलचित्रको ५१औँ दिन केही फरक तरिकाले मनाएको छ । शुक्रवार चलचित्र टिमले सामाखुसी स्थित मानव सेवा आश्रममा पुगी वृद्धवृद्धालाई न्यानो कपडा वितरण गरेको थियो ।
न्यानो कपडासँगै आश्रममा बस्ने सन्पूर्णलाई रात्रि खानाको व्यवस्था गरेको छ । पार्टी प्यालेसमा पार्टी गरेर खर्च गर्नुको अलावा असाहयलाई सहयोग गर्नु राम्रो रहेको चलचित्रका निर्माता तथा निर्देशक अशोक शर्मा बताउँछन् ।
आफूले १७ वर्ष अघि चलचित्र ‘अल्लारे’को ५१ औँ दिनमा पनि समाजसेवा गरेको उनी सम्झन्छन् । अबका दिनमा चलचित्रको सफलता समाजसेवा गरेर बिताउने शर्मा बताउँछन् । कार्यक्रममा अशोक शर्मासँगै चलचित्रका दुई अभिनेता सौगात मल्ल, खगेन्द्र लामिछाने सँगै कलाकारहरू जयनन्द लामा, शारदा गिरी, किशोर भण्डारी र छायाकार पुरुषोत्तम प्रधान, नृत्य निर्देशक वसन्त श्रेष्ठ लगायत उपस्थित थिए ।