अभिनेता विपिन कार्की र अभिनेत्रीद्धय वर्षा राउत र सुरक्षा पन्तको मुख्य भूमिका रहेको चलचित्र ‘गोपी’को चार पोस्टर सार्वजनिक भएका छन् । बुधवार सार्वजनिक भएको गोपीको पोस्टरमा चलचित्रका तिन मुख्य कलाकार फिचर्ड छन् । आरोही केसीको लगानीमा दीपेन्द्र लामाद्वारा निर्दे्शित ’गोपी’मा विपिनले गाई पाल्ने किसानको भूमिका निर्वाह गरेका छन् । पोस्टरमा उनको पेसा झल्किने गरी गाई र दूधको क्यानलाई प्राथमिकता दिइएको छ । चलचित्र आगामी माघ १८ मा रिलिज हुने तय भइसकेको छ ।
आरोही इन्टरटेनमेन्टको ब्यानरमा बनेको चलचित्रमा पटकथा सामिप्यराज तिमल्सिनाले लेखेका छन् । त्यस्तै कार्यकारी निर्माता श्रीधर पौडेल, छायाँकार शैलेन्द्र डी कार्की र सम्पादक निमेष श्रेष्ठ रहेका छन् । चलचित्रमा विप्लव प्रतीक र बुद्धिसागरले लेखेका गीतलाई न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहले कम्पोज गरेका छन् । पाश्र्व सङ्गीत रोहित शाक्यको सुन्न सकिन्छ ।
चलचित्रमा प्रकाश घिमिरे, रमेश अधिकारी, अंकित खड्का, भोला सापकोटा, कमलमणि नेपाल, कुन्ती सिमाली, हिउँबाला गौतम, सरोज अर्याल, केशव राई लगायतले पनि अभिनय गरेका छन् ।