नेपाल आइडल सिजन–२मा शीर्ष ४मा रहेका विक्रम बरालको आवाजमा रहेको चलचित्र ‘प्रसाद’को गीत रिलिज भएको छ । प्रसाद यति बेला दोस्रो सातामा सफलताको साथ चलिरहेको छ । यही अवसर पारेर निर्माण टिमले यो गीत सार्वजनिक गरेको हो । ‘बरै क्यारी बाँचौला..’ बोलको गीतमा विक्रम बरालको आवाज रहेको छ भने सुवास भुसालको शब्द तथा सङ्गीत रहेको छ ।
गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारद्धय नम्रता श्रेष्ठ र विपिन कार्की फिचर्ड छन् । दिनेश राउतको निर्देशन, सुशील पौडेलको लेखन रहेको प्रसादलाई सुभाष थापाले निर्माण गरेका हुन् । निसन्तान दाम्पत्तीको कथामा निर्माण भएको चलचित्रमा विपिन कार्की, निश्चल बस्नेत र नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको छ । चलचित्रले व्यावसायिक र समीक्षागत दुवैबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।