चलचित्र ‘लिलीबिली’बाट चर्चामा रहेको जोडी प्रदीप खड्का र जसिता गुरुङ अभिनित नयाँ चलचित्र ‘लभ स्टेसन’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । निर्माण पक्षको अनुसार चलचित्र चैत्र १ गतेबाट अल नेपाल रिलिज हुने भएको हो। यसअघि फागुनमा रिलिज हुने भनिएको चलचित्र प्राविधिक कारणले गर्दा चैत्रमा सरेको हो । 
हाल सम्पादनको अन्तिम चरणमा रहेको लभ स्टेशनको अर्को साताबाट स्वराँकन सुरु हुने पनि उनले बताए । चलचित्रको दुई ओटा गीत तयार छ भने दुई गीतको छायाँकन चाँडै नै गरिनेछ । 
 यो चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । उनका अनुसार चलचित्र लभ स्टेसन सांगीतिक प्रेम कथामा आधारित पारिवारिक सिनेमा हो । लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । यो चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ ।
आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।