नेपाली चलचित्र ‘गरुड पुराण’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै चलचित्रको ट्रेलर रिलिज गरिएको थियो । ट्रेलरमा चलचित्रका अधिकांश कलाकारहरू फिचर्ड छन् । ट्रेलरमा कलाकारहरू बिचको पैसाको खेललाई रमाइलो तरिकामा प्रस्तुत गरिएको छ । चलचित्रका नायक नाजिर हुसेन यसमा ब्यान्ड बजाउने केटाको भूमिकामा छन् । ट्रेलरमा नाजिरको केही संवादहरू निकै रमाइला छन् । त्यस्तै अर्का नायक कर्मालाई ट्रेलरमा स्थान दिइएको छ । ट्रेलरमा समाजको कथालाई प्रस्तुत गरिएको छ ।
अजित फिल्मस्को प्रस्तुति र अशोक गौतम फिल्मस् ब्यानरको संयुक्त निर्माण रहेको यो चलचित्रमा कर्मा शाक्य, नाजिर हुसेन, प्रियंका सिंह ठकुरी, कामेश्वर चौरासिया, प्रविन खतिवडा, प्रकाश घिमिरे, रश्मी भट्ट, लुनिभा तुलाधर लगायतका कलाकारको अभिनय रहेको छ । कलाकार कामेश्वर चौरासिया चलचित्रमा भिलेनको भूमिकामा रहेका छन् । सुभाष कोइरालाको निर्देशन रहेको चलचित्रमा अजित प्रजापति र अशोक गौतम निर्माताका रुपमा रहेका छन् । चलचित्रमा कथा कसम नेपालको रहेको छ भने पटकथा निर्देशक कोइराला सहित बिनोद खतिवडा, आकाश बरालको रहेको छ । चलचित्रको संवाद आकाश बरालले लेखेका हुन् । यो चलचित्र माघ ४ गते रिलिज हुदैँछ ।