अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको चलचित्र ‘आप्पा’को पहिलो गीत सार्वजनिक भएको छ । ‘हावा सरर..’ बोलको गीतमा दयाहाङको साथमा केही अन्य कलाकार फिचर्ड छन् । गीतमा उनी सवारी चालकको भूमिकामा प्रस्तुत भएका छन् । सार्वजनिक गीतमा चलचित्रका निर्देशन अनमोल गुरुङको सङ्गीत, उमेश उपमाको शब्द रहेको छ भने थुप्देन भूटिया र स्नेहाश्री थापाको स्वर रहेको छ । चलचित्रलाई अनमोल गुरुङले निर्देशन गरेका हुन् । बाबु छोरा बिचको सम्बन्धलाई मुख्य कथाबस्तु बनाइएको चलचित्रमा दयाहाङसँगै सिद्धान्त राज तामाङ, अल्लोना काबो लेप्चा, बरिष्ठ निर्देशक तथा निर्माता तुलसी घिमिरे, अरुणा कार्की लगायतका कलाकारको अभिनय रहेको छ । सिक्किम, दार्जेलिङमा छायाँकन भएको ‘आप्पा’लाई रुदेन सादा लेप्चाले निर्माण गरेका हुन् । चलचित्रमा निर्देशक गुरुङको कथा रहेको छ भने निर्देशक गुरुङ र उमेश उपमा मिलेर यसको पटकथा र संवाद तयार पारेका हुन् । चलचित्रमा शैलेन्द्र डि कार्कीको छायाँकन रहेको छ भने निमेष श्रेष्ठको सम्पादन रहेको छ ।