पछिल्लो समय नेपाली चलचित्रमा सुन्दरीहरू जोडिन थालेका छन् । मिस नेपाल लगायतका विभिन्न ब्युटी प्याजेन्ट मार्फत फिल्ममा आउनेको कमी छैन । प्रियङ्का कार्की , मलिना जोशी , सृष्टि श्रेष्ठ , अकेशा विष्ट लगायत धेरै नाम छन् जसले नेपाली चलचित्रमा प्रवेश गरिसकेका छन् । यसै लिस्टमा थपिदैछिन् सुबेक्षा खड्का । सन् २०१२ मा मिस इन्टरनेशनल नेपालको टाइटल विजेता हुन् सुबेक्षा । उनी त्यसयता मोडलिङसँगै प्रस्तोताको रुपमा व्यस्त थिइन् । यिनै सुबेक्षा चलचित्र ‘रणवीर’ मार्फत यतिबेला सिने नगरीमा डेव्यु गर्ने तयारीमा छन् । मिस नेपाल सकिएसँगै चलचित्रमा अभिनय गर्ने रहर रहेको बताउने सुबेक्षा राम्रो कथाको खोजीमा समय लागेको बताउछिन् । भन्छिन् ‘चलचित्रमा काम गर्न धेरै पहिले देखि रहर थियो । तर अफर आएका केही चलचित्रको कथा मन परेन। जब रणबिरको कथा सुने अनि मैले खोजेको चलचित्र यस्तै हो भन्ने लाग्यो । यो चलचित्रको टिम पनि चित्त बुझेको कारण रणबिर गर्न राजी भए । ’ यता चलचित्रको टिम पनि नयाँ अनुहारको खोजीको क्रममा सुबेक्षा रोजाईमा परेको बताउछन् ।
गतवर्ष सन् २०१८ को सुरुवात देखि रणवीरमा जोडिएर नेपाली चलचित्रमा प्रवेश गरेकी सुबेक्षालाई सम्भावना बोकेको अनुहारको रुपमा हेरिएको छ । लभ स्टोरी तथा एक्सन मिश्रित चलचित्रमा सुबेक्षासँगै सुशील सिटौला , सुपुस्पा भट्ट , प्रशान्त ताम्राकार , टिका पहाडी , नरेश पौडेल , हरिहर शर्मा लगायतको अभिनय रहेको छ । कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको चलचित्रलाई गोमा विष्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका छन् । यसमा चलचित्रमा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । चलचित्र माघ १८ मा रिलिज हुदैछ ।